Nepal Purbadhar

नेपालको टिभेट सुधारमा स्वीस सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता


काठमाडौं। नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभेट) क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कार्यवाहक राजदूत मायरबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो।

भेटमा राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।

नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य देशको तुलनामा राम्रो रहेको र यससम्बन्धी तथ्याङ्कसमेत उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा आफू आशावादी रहेको उनले बताए।

मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै टिभेट क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।

उनले टिभेट ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासन सुधारका लागि सबै सरोकारवालासँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए।

टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने र यसका लागि स्वीस सरकारसँग थप सहकार्य गर्न सकिने उनको भनाइ थियो।

मन्त्री पोखरेलले टिभेट क्षेत्रलाई थप प्रभावकारी बनाउन उद्योग, तालिम प्रदायक, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।


Read Previous

विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

Read Next

६० मेगावाटको कुलेखानी-१ जलविद्युत् आयोजना बन्द, एक हप्तापछि सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar