
सिरहा। लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर-टहरामा लहान नगरपालिकाले डोजर चलाएको छ।
पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै नगरपालिकाले आइतबार सात ओटा संरचना डोजर लगाएर भत्काएको हो।
नगरपालिकाले डोजर चलाएपछि स्थानीय भने असन्तुष्ट भएका छन्। सयौँ संरचना रहेको ठाउँमा आफूनिकट व्यक्तिका संरचना संरक्षण गरेर सात ओटामा मात्र डोजर चलाइएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपात गरेको आरोप लगाएका छन्।

नगर प्रमुख महेशप्रसाद चौधरीले भने कसैलाई पक्षपात नगरेको र क्रमशः अन्य संरचना पनि भत्काइने दाबी गरेका छन्। नगरपालिकाको करिब दुई बिघा जग्गामा तीन ओटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गर्ने र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।

लहान-५ स्थित लहान बजार (गुदरी हटिया)मा नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाइएका घर-टहरामा बसोबास गर्ने तथा पसल सञ्चालन गर्ने व्यक्तिलाई तीन दिनभित्र ठाउँ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो।
पीडित व्यापारीले घर-टहरा भत्काउँदा धनमालमा क्षति भएकाले उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।



तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

