
काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तले खोजी र उद्धार कार्य तीव्र बनाउन माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता लाग्न नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनमा सहभागी परिवार तथा आफन्तले बेपत्ताको तस्बिरसहितका ब्यानर बोकेका थिए।
ब्यानरमा ‘धैर्यताको सीमा नाघेको’ उल्लेख गर्दै बेपत्ताको खोजी तथा उद्धारमा थप प्रभावकारी प्रयास गर्न माग गरिएको थियो।

परिवारका सदस्यहरूले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनीहरूले खोजी तथा उद्धारका लागि आवश्यक प्रविधि, जनशक्ति र सुरक्षा संयन्त्र परिचालन गरी बेपत्ताको अवस्थाबारे परिवारलाई यथाशीघ्र जानकारी गराउन माग गरेका छन्।

आफन्तको खोजीमा भइरहेको ढिलाइले आफूहरू थप मानसिक पीडामा परेको उनीहरूको भनाइ छ।
बाढीपछि प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहे पनि त्रिशूली–३ बी आयोजनामा कार्यरत केही व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
