
नुवाकोट। भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका-३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ४८ जना महिला र ५३ जना पुरुष छन्।
बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकका सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका नियमित औषधि बगेर गएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो।
शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटुरोग तथा दन्त रोगसम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन र मनोसामाजिक परामर्शसमेत दिइएको थियो।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई आवश्यक केही महत्वपूर्ण औषधिसमेत उपलब्ध गराइएको थियो।
