Nepal Purbadhar

माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार प्रयास जारी


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धारको प्रयास तीव्र पारेको छ।

सुरुङभित्र मानिस फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुरुङ क्षेत्रमा खोज तथा उद्धारको काम गरिरहेको छ।

नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो।

चिनियाँ टोलीले सोही दिन माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङ क्षेत्रमा रेकी गर्नुका साथै रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा समेत स्थलगत रेकी गरेको थियो। दुवै आयोजनाको रेकीपछि टोलीले घटनास्थलको वस्तुस्थितिबारे नेपाली सेनालाई जानकारी गराएको थियो।

भदौ १४ गते चिनियाँ उद्धार टोली रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। यता, सोही दिन माथिल्लो त्रिशूली-३ ‘बी’मा नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।

आज बिहान थप १६ जना नेपाली सेना सुरुङ क्षेत्रमा खटिएका छन्। उनीहरूले सुरुङभित्र प्रवेश गर्ने मार्ग खोल्न अवरोध हटाउँदै खन्ने काम गरिरहेका छन्।

सुरुङभित्र मानिस फसेको आशंका रहे पनि उनीहरूको अवस्थाबारे अहिलेसम्म पुष्टि भएको छैन। उद्धार टोलीले सुरुङभित्र पुग्ने प्रयास जारी राखेको छ।


Read Previous

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल

Read Next

भोटेकोसी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar