Nepal Purbadhar

विपद् स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकियो, कहाँ कसलाई सम्पर्क गर्ने?


काठमाडौं । विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न जिम्मेवारीका लागि फोकल पर्सन तोकेको छ।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि HEOC सँगको समन्वयमा डा. रोशन न्यौपानेलाई तोकिएको छ।

प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्र प्रसाद बराल र मन्त्रालयबाट डा. समीर कुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, घटनास्थलमा संघीय स्वास्थ्य टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का डा. अमृत पोखरेललाई समेत फोकल पर्सनको जिम्मेवारी दिइएको छ।

विपद् स्वास्थ्य सहयोगका लागि अनलाइन प्रणाली

विपद्का समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वय सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।

प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोग आवश्यक परे अनुरोध गर्न सकिनेछ। स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको छ।

सहयोग तथा समन्वयका लागि https://help.mohp.gov.np/ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा निकायलाई सहयोगका लागि आह्वान गरेको छ।


Read Previous

त्रिशूली–नारायणीबाट ६९ शव फेला, भरतपुरमा शव व्यवस्थापन कठिन बन्दै, अस्पतालको शवगृह भरियो

Read Next

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ३ बजेसम्म बिजुली पुर्‍याउने तयारी, बुद्धभुमी सञ्चालन गरेर दिने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar