
चितवन। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका मानिसको खोजी तीव्र पारिएसँगै चितवनमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। बिहीबार बिहान ११ बजेसम्म मात्रै चितवन क्षेत्रमा ६९ ओटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये १९ पुरुष, १५ महिला, चार बालक र दुई बालिकाका सग्ला शव छन्। थप २९ ओटा शव भने अङ्गभङ्ग अवस्थामा फेला परेका छन्।
शव खोजीका लागि नेपाली सेनाका ३३३, नेपाल प्रहरीका २५० र सशस्त्र प्रहरीका १५० भन्दा बढी सुरक्षाकर्मी नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
भरतपुर अस्पतालको शवगृह भरियो
शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालको शवगृहमा व्यवस्थापन गर्न कठिन भएको छ। अस्पतालमा अधिकतम ८० ओटासम्म शव राख्न सकिने भएकाले थप शव राख्न वैकल्पिक स्थानको व्यवस्था गर्न थालिएको अर्यालले बताए।
उद्योग संघ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्न अनुकूलित ठाउँ तयार पारिँदै छ। त्यहाँ राखिएका शवको पहिचान सहज बनाउन प्रत्येक शवको नजिकबाट तस्बिर खिचेर कोडिङ गरिनेछ।
शव राखिएको स्थानबाहिर मोनिटरमार्फत तस्बिर देखाउने व्यवस्था गरिनेछ। बेपत्ता आफन्तको खोजीमा आएका व्यक्तिले तस्बिर हेरेर पहिचान गरेपछि आवश्यक प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाइनेछ।
अस्पतालको शवगृह भरिएपछि केही शव त्रिपालमुनि राख्नुपर्ने अवस्था आएको छ। बाढी प्रभावित क्षेत्रबाट थप शव आउने क्रम जारी रहेकाले शव व्यवस्थापन थप जटिल बन्ने देखिएको छ।
आफन्तलाई खाना र बस्ने व्यवस्था
बेपत्ता आफन्तको खोजीमा चितवन आउने परिवारलाई होटल व्यवसायी संघ चितवनले निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने जनाएको छ। संघका महासचिव कृष्णकुमार चौधरीका अनुसार विभिन्न होटलमा उनीहरूका लागि छुट्टै व्यवस्था मिलाइनेछ।
नेपाल रेडक्रस सोसाइटीले शव व्यवस्थापनका लागि सुरक्षा निकायलाई ९५ ओटा शव झोला उपलब्ध गराएको छ। आवश्यक त्रिपाल र स्ट्रेचरसमेत रेडक्रसले उपलब्ध गराएको छ।
शव खोजी तथा व्यवस्थापनमा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य संघ चितवन र उद्योग संघले पनि प्रतिबद्धता जनाएका छन्।
यसैबीच प्रमुख जिल्ला अधिकारी अर्यालले फेला परेका शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेका छन्।
शव खोजी तथा व्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्ष, सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापक तथा सञ्चालक र उद्योग वाणिज्य संघ तथा उद्योग संघका पदाधिकारी सहभागी थिए।
