
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रका नागरिक तथा विद्युत् आयोजनामा कार्यरत कामदारको तत्काल उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
इप्पानले बुधबार जारी गरेको विज्ञप्तिमा बाढीका कारण मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ। प्रभावित सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा विद्युत् आयोजनामा कार्यरत कामदारको उद्धारमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति इप्पानले धन्यवाद व्यक्त गरेको छ।
इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको अनुमान गरिएको इप्पानले जनाएको छ।
त्यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
इप्पानका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।
आयोजनामा फसेका कामदारको तत्काल उद्धार गर्न आग्रह
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत् आयोजनामा कार्यरत तथा फसेका कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायलाई आग्रह गरेको छ।
संस्थाले नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
त्यस्तै, प्रभावित आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन अनुरोध गरिएको छ।
इप्पानले निजी क्षेत्रका छाता संगठन, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई पनि प्रभावित नागरिक तथा विद्युत् आयोजनाको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ।
क्षति मूल्यांकन र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिन माग
बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र विद्युत् प्रणालीमा पुनः जोड्ने कामलाई राष्ट्रिय प्राथमिकता दिन इप्पानले सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले अनुरोध गरेको छ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरणको काम अघि बढाउने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै इप्पानले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

