Nepal Purbadhar

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङमार्ग खुला


काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा आएको छ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्ग प्रयोग गरी काठमाडौं–धादिङ आउजाउ गर्न दिइएको हो ।

सुरुङमार्ग उद्घाटन भएयता आपतकालीन सवारीलाई मात्र प्रवेश दिइँदै आएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीलाई सुरुङमार्गमा प्रवेश खुला गरिएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निजी सवारीलाई परीक्षणस्वरूप निश्चित समयका लागि सुरुङमार्ग प्रयोग गर्न दिइएको हो । परीक्षणबाट प्राप्त अनुभव र समस्याको विश्लेषण गरेपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमार्गमा प्रवेश दिने तयारी गरिएको छ ।

‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या र अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ श्रेष्ठले भने ।

तत्कालका लागि निजी सवारीबाट कुनै शुल्क नलिइने उनले बताए । सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको श्रेष्ठले जानकारी दिए ।

४० किलोमिटर प्रतिघण्टा गति, ओभरटेक गर्न नपाइने

सुरुङभित्र सवारी सञ्चालनका लागि निश्चित सुरक्षा नियम लागू गरिएको छ । सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न नपाइने, हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न नपाइने तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ ।

सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन युनिटलगायत संरचना तयार गर्ने काम भइरहेको छ । सुरुङभित्र हुने गतिविधिलाई सीसीटीभीमार्फत निगरानी गर्ने व्यवस्था पनि मिलाइएको श्रेष्ठले बताए ।

पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारीलाई भने सुरुङमार्गमा प्रवेश गर्न दिइने छैन ।

नियमित सञ्चालनपछि शुल्क लाग्ने

हाल परीक्षणका क्रममा निजी सवारीलाई निःशुल्क प्रवेश दिइए पनि सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि शुल्क लाग्नेछ । सरकारले निर्धारण गरेको शुल्कअनुसार काठमाडौं भित्रिँदा कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । हेभी ट्रकका लागि भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

नागढुंगा सुरूङमार्ग प्रवेशद्वार। तस्बीर: फोटो लाइब्रेरी

२९ अर्ब लागतमा निर्माण

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । शिलान्यास भएको करिब सात वर्षपछि साउन ११ गते यसको उद्घाटन गरिएको थियो ।

नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङमार्ग उद्घाटन गरेका थिए ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको थियो ।

शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ गते रेस्क्यु टनेलको ब्रेक थ्रु गरिएको थियो । त्यसको करिब १० महिनापछि मुख्य सुरुङको समेत ब्रेक थ्रु भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए ।

मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने त्यससँगै २.५५७ किलोमिटर लामो आपतकालीन सुरुङ निर्माण गरिएको छ ।

जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापानले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो ।

आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने सडक जाम तथा यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


Read Previous

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

Read Next

‘कामु’मै अल्झियो प्राधिकरण : एमडी नियुक्ति ढिलाइले उठ्यो सरकारमाथि प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar