
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका श्रेष्ठ स्वास्थ्य व्यवसायी हुन्।
उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक तथा राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।
श्रेष्ठ हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारका रूपमा श्रेष्ठले स्वास्थ्य व्यवसायीको नियमन, दर्ता तथा परिषद्का प्रशासनिक कामलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।
