
काठमाडौं। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन गरेसँगै उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाएको हो।
प्राधिकरणले गत १३ साउनमा सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरेको थियो। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञ सदस्य छन्।
समितिको बैठक बुधबार (आज) अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बसिरहेको छ। बैठकमा विद्युत्को महसुल घटाउने उपाय तथा वर्षायाममा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउने विषयमा छलफल हुनेछ।
समिति संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको हो। उनले ‘सिजनल ट्यारिफ’मार्फत वर्षायाममा उपभोक्ता तथा उद्योगलाई सस्तो दरमा बिजुली उपलब्ध गराउने तयारी भइरहेको बताए।
वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नुपरेको भन्दै शाहीले विद्युत्को खपत बढाएर त्यसलाई कम गर्न खोजिएको बताए।
उद्योगहरूलाई समेत वर्षायामको बिजुलीमा सहुलियत दिने तयारी गरिएको छ। उद्योगले सस्तो बिजुली पाएपछि उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समेत समन्वय भइरहेको शाहीले बताए।
‘सिजनल ट्यारिफ गर्दा महसुल कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन सक्छन् भन्ने विषयमा छलफल भएको छ। हामी छिटै निर्णय गर्छौं।’
सरकारले विद्युत्मा कर बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई सहुलियत दिने उपाय खोज्दै महसुल पुनरावलोकनको प्रक्रिया अघि बढाएको हो। समितिले अध्ययन तथा छलफलपछि विद्युत् महसुल घटाउने सम्बन्धमा सुझाव दिनेछ।
