Nepal Purbadhar

नाइमा एक्स्पोमा दर्शकको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारभन्दा बढीले गरे अवलोकन


काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोको दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

एक्स्पोको दोस्रो दिन पनि प्रदर्शनीस्थलमा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो। विभिन्न ब्रान्डका सवारीसाधन अवलोकन गर्नुका साथै आफूलाई मनपर्ने कार तथा मोटरसाइकलबारे जानकारी लिने र बुकिङ गर्नेको संख्या पनि उल्लेख्य रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा सहभागी कम्पनीका अनुसार महँगा तथा सस्ता दुवै प्रकारका कार र मोटरसाइकलमा दर्शकको समान रुचि देखिएको छ। विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत प्राविधिक विषयमा दर्शकले चासो राखेका छन्।

काठमाडौंको डिल्लीबजारबाट एक्स्पो अवलोकन गर्न आएका दिनेश महर्जनले आफूलाई नाइमा एक्स्पोमा कार खरिदका लागि महत्वपूर्ण अवसर मिलेको बताए।

‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ। बिहान साढे ११ बजेदेखि अहिलेसम्म १८-२० ओटा गाडी चढिसकेँ।’

एक्स्पोमा दर्शकले विभिन्न ब्रान्डका सवारीसाधन चढेर तिनका सुविधा तथा विशेषताबारे जानकारी लिइरहेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोको पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ ओटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए। दोस्रो दिन पनि विभिन्न ब्रान्डका थप चार नयाँ मोडल सार्वजनिक भएका छन्।

आयोजकका अनुसार उद्घाटनको पहिलो दिन २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। दोस्रो दिन पनि २६ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

मोबिलिटी संवादमा यातायात क्षेत्रका चुनौतीबारे छलफल

एक्स्पोको दोस्रो दिन ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा मोबिलिटी संवाद आयोजना गरिएको थियो।

संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि, नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए।

संवादको सहजीकरण पत्रकार टीकाराम यात्रीले गरेका थिए। कार्यक्रममा ३०० भन्दा बढी सहभागीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल भएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण ६ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेका छन्।

एक्स्पोको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक रहेको छ भने रेडबुल पावरबाइकको रूपमा रहेको छ। बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन्। इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका छन्।

त्यस्तै, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एमबिएम कलेज, चार्जिङ पार्टनरमा अग्नि इन्कर्पोरेटेड र अजायल इन्जिनियरिङ सोलुसन्स, राइड पार्टनरमा पठाओ नेपाल, हाइड्रोजन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स (हिक्सिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्रालि रहेका छन्।

नाइमा मोबिलिटी एक्स्पोको को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्रालि रहेका छन्।

एक्स्पोमा विभिन्न सवारीसाधन, विद्युतीय सवारी तथा नयाँ प्रविधिको प्रदर्शनसँगै उपभोक्तालाई प्रत्यक्ष रूपमा सवारीसाधन अवलोकन, परीक्षण तथा खरिदको अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।


Read Previous

अव्यवस्थित पूर्वाधारका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा चुनौती : सिटौला

Read Next

उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको इशारा र सिठ्ठीका भरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar