
काठमाडौं, २६ साउन । चिनियाँ विद्युतीय सवारी निर्माता आइकारको नयाँ अफरोड एसयूभी आइकार भी-२७ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा भी-२७ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार आइकार भी-२७ नेपालमा सार्वजनिक हुने पहिलो ईआरईभी (Extended-Range Electric Vehicle) मोडल हो। ईआरईभी प्रविधिमा आधारित यो एसयूभीले विद्युतीय मोटरबाट ड्राइभ गर्ने तथा लामो यात्राका लागि पेट्रोल इन्जिनमार्फत अतिरिक्त ऊर्जा उपलब्ध गराउने प्रणाली प्रयोग गर्छ।
भी-२७ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री प्याक दिइएको छ। कम्पनीका अनुसार यसले २१० किलोमिटरसम्म प्योर इलेक्ट्रिक रेन्ज दिन्छ। पूर्ण ट्यांकी इन्धनसहित भने करिब १२०० किलोमिटरसम्मको कुल रेन्ज दिने दाबी गरिएको छ।
आइकार भी-२७ अल ह्वील ड्राइभ (एडब्ल्यूडी) र रियर ह्वील ड्राइभ (आरडब्ल्यूडी) प्रणालीमा उपलब्ध छ।
एडब्ल्यूडी भर्सनले अधिकतम ३३६ किलोवाट पावर तथा ५०५ न्यूटन मिटर टर्क उत्पादन गर्छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, आरडब्ल्यूडी भर्सनमा १८५ किलोवाट पावर र ३०० न्यूटन मिटर टर्क उत्पादन हुन्छ।
आइकार भी-२७ आकारमा समेत ठूलो एसयूभी हो। यसको लम्बाइ ५,०५५ मिलिमिटर, चौडाइ १,९७६ मिलिमिटर र उचाइ १,८९४ मिलिमिटर रहेको छ। यसको ह्वीलबेस २,९१० मिलिमिटर छ।
गाडीको ड्यासबोर्डमा १५.४ इन्चको २.५के इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ। कम्पनीका अनुसार इन्फोटेनमेन्ट प्रणालीमा होराइजन जर्नी ६पी चिप प्रयोग गरिएको छ।
त्यस्तै, गाडीमा स्न्यापड्रागन ८२९५पी चिपसेट, २३ स्पिकरको अडियो सिस्टम, लेदर इन्टेरियर, फराकिलो रियर लेगरुम तथा प्यानोरामिक सनरुफलगायतका सुविधा छन्।
सुरक्षातर्फ भी-२७ मा होराइजन रोबोटिक्सको जर्नी ६पी चिप र लाइडार प्रविधिमा आधारित लेभल-२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध छ।
यसमा ७ वटा एयरब्याग, एबीएस, ईबीडी लगायतका सुरक्षा फिचर पनि समावेश गरिएको छ।
ईआरईभी प्रविधि, ठूलो ब्याट्री, लामो संयुक्त रेन्ज तथा अफरोड क्षमतासहित भी-२७ नेपाली बजारमा सार्वजनिक भएसँगै प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ प्रविधिको प्रतिस्पर्धा थपिने देखिएको छ।
