
default
काठमाडौं। सोलुखुम्बुको निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक राय-सुझाव माग गरेको छ।
विभागले सार्वजनिक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं. ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ।
त्यसैगरी तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गर्ने योजना रहेको विभागले जनाएको छ।
प्रवर्द्धक कम्पनी गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइन निर्माण अनुमति माग गरेपछि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ।
प्रतिवेदनअनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने देखिएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति, स्थानीयवासी वा सरोकारवाला संस्थाले लिखित राय-सुझाव पेश गर्न सक्नेछन्।
प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर हुनेछ। यसका लागि ३३ केभी प्रसारण लाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारण लाइनमा दुईवटा टावर निर्माण गरिनेछ।
आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर र अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्नेछ। साथै प्रसारण लाइनको अधिकार क्षेत्र (राइट अफ वे) अन्तर्गत करिब ९.६६ हेक्टर जग्गा पर्ने विभागले जनाएको छ।
विभागका अनुसार ३३ केभी प्रसारण लाइनका लागि न्यूनतम ६.६२ मिटर र १३२ केभी प्रसारण लाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ तथा प्रचलित वातावरणीय मापदण्डअनुसार भू-क्षय, बाढी, वायु प्रदूषणलगायत सम्भावित वातावरणीय प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने विभागले जनाएको छ।
