Nepal Purbadhar

प्रतिनिधिसभा बैठक: सुनसरी घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग


काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने सांसदहरूले नागरिकलाई सुरक्षित रूपमा बाँच्न पाउने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै सुनसरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

सांसद गुरूप्रसाद बरालले सुनसरी घटनाको समाधानमा सरकार प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम राख्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

सांसद भरत गिरी, साजिका खातुका सिद्धिकी र सरस्वती लामाले घटनामा गोली चलेको विषयमा उच्चस्तरीय छानबिन गर्न, दोषीलाई कानुनी कारबाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था गर्न माग गरे।

सांसद प्रकाशचन्द्र परियारले नेपालमा धर्म र संस्कृतिका नाममा द्वन्द्व स्वीकार्य नहुने उल्लेख गर्दै सुनसरीलगायत क्षेत्रमा भएका पछिल्ला घटनाले चिन्ता बढाएको बताए। उनले अफवाहको पछि नलाग्न आमजनतालाई आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।

सांसद प्रकाशसिंह कार्कीले यस्ता घटना दोहोरिन नदिन सरकार र सरोकारवाला सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।

बैठकमा अन्य सांसदहरूले पनि विभिन्न समसामयिक विषय उठाएका थिए। सांसद युवराज दुलालले गुठी जग्गा संरक्षण र मोहियानी किसानका समस्यामा सरकारको ध्यानाकर्षण गराए भने सांसद आरेन राईले बाँदरका कारण किसानले भोगिरहेको समस्याको दीर्घकालीन समाधान खोज्न माग गरे।

सांसद डा. चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था गर्न तथा चिकित्सकलाई सुरक्षित रूपमा सेवा दिने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

त्यस्तै, सांसद श्रीराम न्यौपानेले नागढुंगा–सुरुङमार्ग निर्माणका क्रममा ज्यान गुमाएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। सांसद डा. लेखजंग थापाले वीरगञ्जस्थित नारायणी अस्पतालको विवाद वार्तामार्फत समाधान भएको उल्लेख गर्दै संवाद नै समस्याको उचित समाधान भएको बताए।


Read Previous

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ समितिमा पठाउने प्रस्ताव स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar