
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रले सहज रूपमा उद्योग सञ्चालन, विस्तार तथा नयाँ लगानी गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन्। उत्पादन वृद्धि, नयाँ लगानी र नयाँ उद्योग स्थापना हुने वातावरण सिर्जना गर्न सरकार नीतिगत तथा संस्थागत सुधारमा केन्द्रित रहेको उनले बताए।
मंगलबार अर्थ मन्त्रालयमा उद्योगी व्यवसायीसँग भएको छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि उत्पादन, लगानी र उद्योग विस्तारलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए। उद्योग सञ्चालनमा सरकार प्रत्यक्ष संलग्न हुने अवधारणा अब उपयुक्त नभएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई व्यवसाय गर्न सहज वातावरण उपलब्ध गराउनु नै राज्यको जिम्मेवारी भएको स्पष्ट पारे।
उनले उत्पादन लागत उच्च हुनुका कारण, उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु, नयाँ लगानी आउन नसक्नु तथा लगानीकर्ताले निर्णय गर्न हिचकिचाउनुका वास्तविक कारण पहिचान गरेर समाधान खोज्ने काममा सरकार केन्द्रित रहेको बताए।
“यदि उत्पादन लागत बढी छ भने किन बढी छ ? उद्योगहरू पूर्ण क्षमतामा किन चल्न सकेका छैनन् ? नयाँ लगानी किन आउँदैन ? कानुन, प्रक्रिया वा प्रशासनको कुन तहमा समस्या छ ? हामी यी प्रश्नको उत्तर प्रतिवेदनमा होइन, व्यवहारमा खोज्न चाहन्छौँ,” उनले भने।
अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई सरकारसँग खुला रूपमा आफ्ना समस्या राख्न आग्रह गर्दै समाधानका लागि निरन्तर सहकार्य आवश्यक रहेको बताए। उत्पादन लागत घटाउने, जग्गा, विद्युत्, श्रम, ढुवानी, वित्त, कच्चा पदार्थ तथा बजारसँग सम्बन्धित अवरोध हटाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उनले बताए।
उनले कुन कानुन संशोधन गर्नुपर्ने, कुन प्रशासनिक प्रक्रिया सरलीकरण गर्नुपर्ने, कुन नयाँ कानुनी व्यवस्था आवश्यक छ र सरकारले तत्काल गर्न सक्ने निर्णय के–के हुन् भन्ने विषयमा निजी क्षेत्रबाट ठोस सुझाव अपेक्षा गरिएको बताए।
अर्थमन्त्रीका अनुसार उद्योगी–व्यवसायीसँगको छलफल एकपटकको कार्यक्रम मात्र नभई निरन्तर चल्ने प्रक्रिया हुनेछ। सरकारले तय गरेका आर्थिक सुधारका लक्ष्य हासिल नभएसम्म यस्ता कार्यगत बैठक नियमित रूपमा सञ्चालन गरिने उनले जानकारी दिए।
छलफलमा उठ्ने प्रत्येक विषयलाई सम्बन्धित मन्त्रालय, विभाग तथा निकायसँग समन्वय गरी तत्काल समाधानको प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने घोषणा गरे। यसले समस्या थन्क्याउने होइन, समाधान गर्ने कार्यसंस्कृतिको विकास गर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारलाई तीव्र रूपमा कार्यान्वयन गरिने पनि बताए। आवश्यक कानुन संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा लागू गरिने, पुँजीगत खर्च बढाइने, आयोजना कार्यान्वयनलाई गति दिइने तथा पुँजी बजार, वित्तीय क्षेत्र र लगानी वातावरण सुधारका काम समानान्तर रूपमा अघि बढाइने उनले जानकारी दिए।
नेपाललाई लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फ अघि बढ्न उद्योग क्षेत्रको नेतृत्व आवश्यक रहेको बताए।
सरकार निजी क्षेत्रको लगानीको सुरक्षा, उचित प्रतिफल र पुनः लगानीको वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको बताए।
“हाम्रो साझा लक्ष्य उत्पादन, लगानी र उत्पादक क्षेत्रमार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्नु हो,” उनले भने, “सरकार सुधारको गति बढाउने, अवरोध हटाउने र निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्दै उद्योग विस्तार, उत्पादन वृद्धि, नयाँ उद्यम र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नेछ।”
