
एआई तस्बीर।
काठमाडौं। गृह मन्त्रालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई खटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
आगजनी र तोडफोडपछि सेना परिचालन, के भएको थियो घटना
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि शुरू भएको विरोध प्रदर्शन सोमबार उग्र बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी, तोडफोड र भौतिक आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको विरोधमा सोमबार बिहानैदेखि प्रदर्शन शुरू भएको थियो। आक्रोशित प्रदर्शनकारीले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल, सवारीसाधन तथा अन्य संरचनामा आगजनी र तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–२ स्थित गाउँपालिका कार्यालयअगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र घरअगाडि पार्किङ गरिएको को २ त ५८५२ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको थियो। अबाफ अन्सारीको टिनले छाएको कच्ची घर तथा दुईवटा मोटरसाइकलमा पनि आगजनी भएको प्रहरीले जनाएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा परालका दुईवटा टालीमा समेत आगजनी भएको छ। प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको बताइएको छ। घाइते मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन्।
अवस्था नियन्त्रणबाहिर गएपछि कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। सेनाको उपस्थितिपछि केही समय प्रदर्शनकारी तितरबितर भए पनि क्षेत्रमा त्रासको अवस्था कायमै रहेको बताइएको छ।
इनरुवा र पूर्व–पश्चिम राजमार्गमा पनि प्रदर्शन
सुनसरी सदरमुकाम इनरुवामा पनि सोमबार प्रदर्शन भएको छ। करिब १५० जनाको समूहले बजार परिक्रमा गर्ने क्रममा एक सर्वसाधारणमाथि कुटपिट गरेको बताइएको छ।
इनरुवा नगरपालिका–४ मा बजार बन्द गराउँदै हिँडेको समूहले बजाज शोरुमका चारवटा झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएको थियो। इनरुवा–३ अदालत रोडमा म्याजिक गाडी र इनरुवास्थित प्रहरी बिटमा समेत तोडफोड भएको छ।
प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्। सुनसरी प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्युका बाबजुद सोमबार बिहानैदेखि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। स्थिति नियन्त्रणमा लिन संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको उपस्थिति बढाइएको छ।
सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लाको अवस्था सामान्य बनाउँदै सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको छ।
