Nepal Purbadhar

पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला उद्घाटन


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरेका छन्।

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको यो सुरुङमार्ग करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो। २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको आयोजना करिब सात वर्षपछि सञ्चालनमा आएको हो।

उद्घाटनसँगै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग नेपालको सडक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा सञ्चालनमा आएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने सवारी चाप घट्नुका साथै काठमाडौं प्रवेश गर्ने यात्राको समय छोटिने अपेक्षा गरिएको छ।

सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, कोभिड-१९ महामारी, मुआब्जा विवादलगायतका कारण निर्माणमा ढिलाइ भएको थियो।

निर्माण सुरु भएको करिब चार वर्षपछि २०८० साउन २२ गते आपतकालीन अर्थात् ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो। रेस्क्यु टनेलको ब्रेक थ्रु हुँदा मुख्य सुरुङको करिब ८२ प्रतिशत निर्माण सम्पन्न भइसकेको थियो।

त्यसपछि २०८१ असार ३ गते मुख्य सुरुङको पनि ब्रेक थ्रु गरिएको थियो। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर र आपतकालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग जापान सरकार र नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाका लागि जापान सरकारको १६ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको थियो।

निर्माणका क्रममा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो।


Read Previous

आजदेखि सञ्चालनमा आउँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, ३८ महिनामा सक्ने लक्ष्य, सात वर्षमा तयार

Read Next

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar