Nepal Purbadhar

सिंहदरबार पुग्न पाएन लघुवित्त पीडितको ‘राजधानी मार्च’, वर्षामा भिज्दै सडकमा बसे प्रदर्शनकारी


काठमाडौं। सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त तथा वित्तीय शोषणपीडितले बल्खुदेखि शुरू गरेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा रोकिएको छ ।

सुरक्षा निकायले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारी शान्तिबाटिकामै रोकिएका हुन् । बल्खुबाट हिँडेर आएका प्रदर्शनकारी सडकमा बसेर कोणसभा गरेका थिए ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा भएको मार्चमा करिब ९ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।

प्रदर्शनकारीले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा विविध शुल्क खारेज गर्न माग गरेका छन् । साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग माग गरेका छन् ।

यसैबीच, काठमाडौंमा परेको अविरल वर्षाका कारण आन्दोलनकारी थप समस्यामा परेका छन् । बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा उनीहरू वर्षामै भिजेर बस्न बाध्य भएका छन् । केही प्रदर्शनकारी गाडीको ओत, रुखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा देखिएका छन् ।

आयोजकका अनुसार गृह प्रशासनसँग समन्वय हुन नसकेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि प्रदर्शनकारीले रत्नपार्कमै बस्ने निर्णय गरेका छन् ।

प्रदर्शनकारीले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तस्बीर सबै: नेपाल फोटो लाइब्रेरी।


Read Previous

लघुवित्त तथा वित्तीय शोषण पीडितको ‘राजधानी मार्च’-तस्बीरमा हे्नुहोस्

Read Next

तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar