Nepal Purbadhar

सीमापार प्रसारण क्षमता विस्तारको निर्णय स्वागतयोग्य : निक्की


काठमाडौं। नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता विस्तार गर्ने निर्णयलाई स्वागत गर्दै यसले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ चरणमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

पोखरामा बुधबार सम्पन्न नेपाल-भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ बैठकले ढल्केबार-मुजफ्फरपुर र ढल्केबार-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता १ हजार १०० मेगावाटबाट बढाएर १ हजार ६५० मेगावाट पुर्‍याउने निर्णय गरेको थियो। साथै भारतबाट नेपालतर्फ विद्युत् आयात क्षमता पनि १ हजार मेगावाटबाट बढाएर १ हजार ४०० मेगावाट पुर्‍याइने भएको छ।

निक्कीले उक्त निर्णयलाई नेपाल-भारतबीचको रणनीतिक ऊर्जा साझेदारीको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै यसले नेपालको बढ्दो विद्युत् उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने अवसर विस्तार गर्नुका साथै जलविद्युत् क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्ने जनाएको छ।

संघले इनरुवा-पूर्णिया, दोधोधरा-बरेली, मोतिहारी-निजगढ, चमेलिया-जौलजीबी तथा नयाँ बुटवल-गोरखपुरलगायत सीमापार प्रसारण लाइन आयोजनामा भएको प्रगतिलाई पनि सकारात्मक रूपमा लिएको छ। यस्ता आयोजनाले नेपाल-भारतबीचको दीर्घकालीन ऊर्जा सहकार्यलाई बलियो बनाउनुका साथै दक्षिण एशियामा क्षेत्रीय विद्युत् बजार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने निक्कीको विश्वास छ।

नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल)बीच संयुक्त लगानीमा अघि बढिरहेका प्रसारण परियोजनाले ऊर्जा क्षेत्रमा संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने संघले जनाएको छ।

निक्कीका अनुसार पछिल्ला निर्णयले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विकसित विश्वास, सहकार्य र साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यसले दुवै देशको दिगो आर्थिक विकास, क्षेत्रीय ऊर्जा सुरक्षा र सीमापार विद्युत् व्यापार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

संघले सरकार, सार्वजनिक संस्थान र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै यस्तो साझेदारीले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार, सीमापार विद्युत् व्यापार, प्रविधि हस्तान्तरण र दीर्घकालीन लगानीलाई थप गति दिने उल्लेख गरेको छ।

नेपालसँग प्रशस्त जलविद्युत् सम्भावना रहेको र भारत स्वच्छ तथा नवीकरणीय ऊर्जाको विशाल बजारका रूपमा विकसित भइरहेकाले पछिल्ला प्रगतिले नेपालको जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार र ऊर्जा-आधारित उद्योगमा दीर्घकालीन लगानीका लागि थप विश्वासको वातावरण सिर्जना गरेको निक्कीको धारणा छ।

संघले विद्युत् निर्यातसँगै आन्तरिक विद्युत् खपत विस्तारलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। भरपर्दो र किफायती स्वच्छ विद्युत्को उपलब्धताले उत्पादनमूलक उद्योग, डाटा सेन्टर, डिजिटल पूर्वाधार, सूचना प्रविधिमा आधारित सेवा, विद्युतीय सवारी, विद्युतीय रेल, हरित हाइड्रोजन तथा अन्य ऊर्जा-आधारित उद्योगको विकासमा टेवा पुग्ने उल्लेख गरिएको छ। आन्तरिक खपत विस्तार र विद्युत् निर्यात एकअर्काका पूरक उद्देश्य भएको भन्दै यसबाट नेपालको जलविद्युत् स्रोतको अधिकतम आर्थिक उपयोग हुने निक्कीको भनाइ छ।

निक्कीले भारतका सार्वजनिक तथा निजी क्षेत्रका कम्पनी, संस्थागत लगानीकर्ता तथा ऊर्जा विकासकर्तालाई नेपालको जलविद्युत्, प्रसारण पूर्वाधार र ऊर्जा-आधारित उद्योगमा थप लगानी गर्न आह्वान गरेको छ। लगानीमैत्री, स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण, समयमै प्रसारण पूर्वाधार निर्माण तथा दुवै सरकारबीचको निरन्तर समन्वयले आगामी दशकमा भारततर्फ नेपालको विद्युत् निर्यात उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास पनि संघले व्यक्त गरेको छ।

नेपाल-भारत उद्योग वाणिज्य संघले जलविद्युत् विकास, प्रसारण पूर्वाधार, नवीकरणीय ऊर्जा प्रविधि तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न आवश्यक सहजीकरण गर्दै नेपाल-भारत आर्थिक तथा ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउन आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएको छ।


Read Previous

बेलायतको अस्थिर राजनीतिको उपज, १० वर्षमा सात सरकार, ५६ वर्षिया बर्नह्याम आज प्रधानमन्त्री बन्दै

Read Next

दुर्गम मुगु र बाजुराका तीन क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar