
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताएका छन्।
नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगत छ दशकदेखि विभिन्न विकासका क्षेत्रमा पुर्याएको योगदानका लागि युएनडीपीप्रति आभार व्यक्त गरे।
उनले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, लोकतन्त्र सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल विकासलगायतका क्षेत्रमा युएनडीपीले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए।
“नेपाल र युएनडीपीबीचको ६० वर्ष लामो सहकार्य आगामी दिनमा पनि अझ प्रभावकारी रूपमा अघि बढोस् भन्ने हाम्रो अपेक्षा छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले विकास साझेदारीलाई आर्थिक सहयोगमा मात्र सीमित गरेर हेर्न नहुने उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय सहकार्य, अनुभव आदानप्रदान र संस्थागत समन्वयलाई पनि सुदृढ बनाएको बताए।
उनले आफूले पनि युएनडीपीसँग काम गर्ने अवसर पाएको स्मरण गर्दै संस्थाले नेपालको विकास यात्रामा खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रमका अवसरमा अर्थमन्त्री वाग्लेले नेपालमा युएनडीपीको ६० वर्षे योगदान समेटिएको ‘६० वर्षको सहयात्रा’ नामक फोटो पुस्तकसमेत सार्वजनिक गरेका थिए।

