
लमजुङ। डुम्रे–बेँसीसहर सडक खुलेको ५४ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीय तथा यात्रु कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
विसं २०२९ मा निर्माण सुरु भएको ४२ किलोमिटर लामो डुम्रे–बेँसीसहर सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो। सडकमा विसं २०५२ देखि कालोपत्र गर्ने काम सुरु भए पनि हालसम्म पूर्ण स्तरोन्नति हुन सकेको छैन। यसको प्रभावले सडकमा चल्ने सवारीसाधनलाई नियमित सञ्चालनमा कठिनाइ भएको छ भने यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ।
लमजुङ र तनहुँ जोड्ने यस सडकलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटक–पटक माग गरे पनि कामले अपेक्षित गति लिन सकेको छैन। वर्षायाममा निर्माण कम्पनीले सडक किनारमा जथाभावी निर्माण सामग्री थुपारेका कारण आवागमन थप प्रभावित भएको स्थानीयको गुनासो छ।
घाम लाग्दा धुलो र वर्षा हुँदा हिलोले सडक प्रयोग गर्न निकै कठिन हुने गरेको स्थानीय बताउँछन्।
“पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ। यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले भनिन्।
सवारी चालक नारायण घिमिरेले पनि वर्षायाममा यस सडकमा यात्रा गर्न निकै समस्या हुने बताए।
जनदबाबपछि डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्मको करिब ८ दशमलव ९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।
डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक निर्माणका लागि पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८० जेठमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। निर्माण लागत ७२ करोड रुपैयाँ रहेको यस आयोजनाका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ। तर सम्झौताअनुसार काम अझै सम्पन्न हुन सकेको छैन।
डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्रलाई जोड्ने मुख्य मार्ग हो। यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर भएर यात्रा गर्ने गर्छन्।
