
काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त ‘हाइवे ज्यामितीय डिजाइन तथा डिजिटल मोडलिङ’ सम्बन्धी चारदिने निरन्तर पेसागत विकास (सीपीडी) तालिम काठमाडौंमा सम्पन्न भएको छ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्केफ) नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा असार १७ देखि २० गतेसम्म गौशालास्थित होटल क्रिस्टल पशुपतिमा तालिम आयोजना गरेको हो।
स्केफ नेपालका अनुसार तालिमको उद्देश्य परामर्श, निर्माण क्षेत्र तथा सरकारी निकायसँग सम्बन्धित परियोजनामा कार्यरत नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु रहेको थियो।
तालिममा सडक सुरक्षा, बहुविषयगत समन्वय तथा आधुनिक सडक डिजाइनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। एसडब्लु रोड्स भी–२, सिभिल थ्रीडी लगायतका डिजिटल डिजाइन प्रणालीमार्फत सहभागीलाई सफ्टवेयरमा आधारित आधुनिक राजमार्ग डिजाइन प्रक्रिया, डिजाइन त्रुटि न्यूनीकरण तथा नेपालको सन्दर्भमा आधारित अध्ययनका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त यस्ता सीपीडी तालिममा सहभागी हुँदा इन्जिनियरहरूले सीपीडी घण्टा प्राप्त गर्नेछन्। यसले व्यावसायिक दक्षता अभिवृद्धि, दर्ता तथा इजाजतपत्र नवीकरणका आवश्यक प्रक्रिया पूरा गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्जिनियरिङ मापदण्डसँग अद्यावधिक रहन सहयोग पुग्ने विश्वास गरिएको छ।
समापन कार्यक्रममा स्केफ नेपालकी महासचिव इन्जिनियर मन्दाकिनी कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद तथा समापन मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण व्यावसायिक विकास तथा क्षमता अभिवृद्धि उपसमितिका संयोजक इन्जिनियर आशय ओझाले गरेका थिए।
तालिममा भारतका मुख्य प्रशिक्षक इन्जिनियर गोपाल मित्र तथा एसडब्लु रोड्स सफ्टवेयर विकासमा संलग्न इन्जिनियर न्हुजा बज्राचार्यले आधुनिक सडक डिजाइन तथा आफ्नो कार्यानुभवबारे प्रस्तुति दिएका थिए।
तालिममा सरकारी निकाय, परामर्शदाता संस्था, निर्माण व्यवसायी तथा विभिन्न सडक आयोजनामा कार्यरत इन्जिनियरहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न पेसागत पृष्ठभूमिबाट आएका सहभागीबीच अनुभव आदानप्रदान हुँदा प्रशिक्षण कार्यक्रम थप प्रभावकारी बनेको पनि स्केफ नेपालले जनाएको छ।
