Nepal Purbadhar

एकैदिन दुई हजार १५७ जनालाई ट्राफिक कारबाही, २१ लाख ४० हजार रुपैयाँभन्दा बढी जरिवाना


काठमाडौं। काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी चालक एकैदिन ट्राफिक कारबाहीमा परेका छन्। पछिल्लो २४ घण्टामा गरिएको कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १५७ जना चालकलाई कारबाही गरिएको हो।

कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाएका ८२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गरेका १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना कारबाहीमा परेका छन्।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका सवारीसाधन चलाउने २२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ५४ जनामाथि पनि कारबाही गरिएको छ।

यसबाहेक अन्य विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५३८ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।


Read Previous

साउनदेखि सञ्चालन तयारी भइरहेको नागढुंगा सुरुङमार्गमा प्राविधिक परीक्षण अन्तिम चरणमा

Read Next

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar