
काठमाडौं। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स एससीएईएफ (स्क्याफ) नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सीबीडीआईसी) तथा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)सँगको सहकार्यमा आयोजना गरेको ‘मल्टिलेन सडक, अन्डरपास तथा फ्लाइओभरको डिजाइनको परिचय’ विषयक तीनदिने निरन्तर पेसागत विकास (सीपीडी) तालिम सम्पन्न भएको छ।
असार ११ देखि १३ गतेसम्म काठमाडौंमा सञ्चालन भएको उक्त तालिम नेपाल इन्जिनियरिङ परिषद् (एनईसी)बाट मान्यता प्राप्त रहेको आयोजकले जनाएको छ।
तालिमको उद्देश्य परामर्श, निर्माण क्षेत्र तथा सरकारी निकायसँग सम्बन्धित परियोजनामा कार्यरत नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु रहेको थियो। तालिममा सहभागीलाई मल्टिलेन सडक, अन्डरपास तथा फ्लाइओभरको योजना, डिजाइनका आधारभूत अवधारणा, डिजाइन मापदण्ड तथा बहुविषयगत समन्वयसम्बन्धी प्रारम्भिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
एससीएईएफ नेपालका अनुसार नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त यस्ता सीपीडी तालिममा सहभागी हुने इन्जिनियरहरूले सीपीडी घण्टा (CPD Hours) प्राप्त गर्न सक्छन्। यसले व्यावसायिक दक्षता कायम राख्न, इन्जिनियरिङ दर्ता तथा इजाजतपत्र नवीकरणका आवश्यकताहरू पूरा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डसँग अद्यावधिक रहन सहयोग पुग्ने विश्वास गरिएको छ।
तालिममा सरकारी निकायका प्रतिनिधि, नियोक्ता, परामर्शदाता, निर्माण व्यवसायी तथा विभिन्न परियोजनामा कार्यरत राजमार्ग इन्जिनियरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न संस्थागत पृष्ठभूमिबाट आएका सहभागीबीच भएको अनुभव आदान–प्रदानले तालिमलाई थप प्रभावकारी र उपयोगी बनाएको आयोजकको भनाइ छ।
एससीएईएफ नेपालले आगामी दिनमा पनि पूर्वाधार तथा इन्जिनियरिङ क्षेत्रका जनशक्तिको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमलाई निरन्तरता दिने जनाएको छ। साथै, आगामी तालिम तथा क्षमता विकास कार्यक्रमबारे जानकारीका लागि इच्छुक व्यक्तिले एससीएईएफ नेपालमा (www.scaef.org.np) इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।
