
मान्म। कालीकोटका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु चार अर्ब ५५ करोड छ लाख ३२ हजार २२६ बराबरको बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको छ।
जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले आ–आफ्नो गाउँ तथा नगरसभामार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।
सार्वजनिक बजेटअनुसार नरहरिनाथ गाउँपालिकाले सबैभन्दा बढी रु ६१ करोड ५९ लाख ५९ हजार ७०० को बजेट ल्याएको छ। त्यसपछि खाँडाचक्र नगरपालिकाले रु ५७ करोड ३७ लाख १६ हजार र रास्कोट नगरपालिकाले रु ५६ करोड ६७ लाख ५१ हजार को बजेट प्रस्तुत गरेका छन्।
त्यसैगरी पलाँता गाउँपालिकाले रु ४९ करोड ६९ लाख ९३ हजार ९१, सान्नीत्रिवेणी गाउँपालिकाले रु ४४ करोड २६ लाख २५ हजार ९४७, पचालझरना गाउँपालिकाले रु ४१ करोड ४४ लाख ७७ हजार ५४३, शुभकालिका गाउँपालिकाले रु ४० करोड ८८ लाख ३६ हजार ३६, महावै गाउँपालिकाले रु ३७ करोड ३८ लाख ३५ हजार ५०२ को बजेट सार्वजनिक गरेका छन्।
स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटमध्ये महावै गाउँपालिकाको बजेट सबैभन्दा कम रहेको छ।
सार्वजनिक गरिएका बजेटले आधारभूत सेवा सुधारसँगै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सुशासन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेका छन्।
