Nepal Purbadhar

रास्वपा महाधिवेशनमा प्रधानमन्त्री सचिवालयसँग जोडिएका अनुहार को को छन् चर्चामा


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका क्रममा नेतृत्व चयन र संगठनात्मक शक्ति सन्तुलनबारे बहस चलिरहेका बेला प्रधानमन्त्री सचिवालयसँग जोडिएका केही व्यक्तित्वहरू प्रतिनिधिहरूबीच चर्चाको केन्द्र बनेका छन्।

देशभरबाट आएका प्रतिनिधिहरू महाधिवेशनस्थलमा उम्मेदवार, समीकरण र भावी नेतृत्वबारे छलफलमा व्यस्त छन्। यसक्रममा सरकार सञ्चालन, नीति निर्माण, प्रशासनिक व्यवस्थापन तथा सुशासनका एजेन्डामा सक्रिय भूमिका खेलेका प्रधानमन्त्री सचिवालयका सदस्यहरूको सम्भावित भूमिकाप्रति विशेष चासो देखिएको छ।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिएका छन्। पार्टी समायोजनदेखि सरकारको सुशासन अभियानसम्म सक्रिय भूमिका खेलेका ढकाललाई महाधिवेशनमा चर्चित आकांक्षीका रूपमा हेरिएको छ।

मुस्लिम क्लस्टरतर्फ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको केन्द्रीय सदस्यमा चयन लगभग निश्चित मानिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच उनको नाम पनि प्रमुख रूपमा चर्चामा रहेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्मा भने औपचारिक रूपमा उम्मेदवारीको दौडमा नदेखिए पनि महाधिवेशनको राजनीतिक अंकगणित र शक्ति सन्तुलनलाई नजिकबाट नियालिरहेको व्यक्तित्वका रूपमा चर्चा भइरहेका छन्।

केन्द्रीय सदस्यका सम्भावित आकांक्षीमध्ये प्रधानमन्त्रीका स्वकीय सहसचिव सञ्जीव पाण्डे तथा स्वकीय उपसचिव विशाल अधिकारी र प्रकृति ढकालको नाम पनि चर्चामा छ। उम्मेदवारी घोषणा गरिसकेकी प्रकृति ढकाल प्रतिनिधिहरूसँग भेटघाट र संवाद गर्दै समर्थन जुटाउन सक्रिय देखिएकी छन्। उनलाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा पनि हेरिएको छ।

रास्वपाको आन्तरिक राजनीतिबारे जानकार मानिने विशाल अधिकारी महाधिवेशनमा उम्मेदवारभन्दा बढी रणनीतिक भूमिकामा सक्रिय रहेको सहभागीहरूको भनाइ छ। व्यवस्थापन, समूहगत समन्वय तथा नेतृत्वबीच संवाद कायम गराउन उनको भूमिका उल्लेखनीय रहेको बताइन्छ।

सञ्जीव पाण्डे पनि महाधिवेशनका क्रममा प्रतिनिधिहरूसँग सरकारका उपलब्धि, सुशासनका पहल तथा जनतामुखी कार्यक्रमबारे संवादमा सक्रिय छन्। उनले उम्मेदवारीबारे स्पष्ट धारणा सार्वजनिक नगरे पनि सम्भावित आकांक्षीका रूपमा उनको नाम चर्चामा रहेको छ।

महाधिवेशनमा सुदीप ढकाल र प्रकृति ढकाल प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने सम्भावना बलियो देखिएको छ। यद्यपि सुबास शर्मा, सञ्जीव पाण्डे र विशाल अधिकारीको आगामी भूमिका भने अझै खुल्न बाँकी छ।

महाधिवेशनस्थलमा चलिरहेका छलफलहरूका अनुसार सरकार सञ्चालनको पृष्ठभूमिमा सक्रिय रहेका यी अनुहारहरू पार्टीको औपचारिक नेतृत्व संरचनामा कति प्रभावशाली रूपमा स्थापित हुन्छन् भन्ने विषयले प्रतिनिधिहरूको ध्यान तानेको छ।


Read Previous

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’: दुई देशीय निजी क्षेत्रबीच सहकार्य विस्तारमा जोड

Read Next

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar