
रसुवा। गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ।
बाढीका कारण भोटेकोशी नदीस्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो। हाल बाँध क्षेत्रमा थुप्रिएको गेग्रान, बालुवा तथा अन्य अवरोध हटाउने काम द्रुत रूपमा भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार डिसिल्टिङ बेसिनमा जम्मा भएका बालुवा तथा अन्य सामग्री हटाइसकिएको छ। साथै, हेडरेस शुरूङ र विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणहरूको सफाइ कार्यसमेत सम्पन्न भइसकेको छ।
बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम क्षेत्र तथा विद्युत्गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको सुरक्षाका लागि दायाँ–बायाँ पर्खाल निर्माण कार्य जारी रहेको छ।
आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरू गरेको थियो। तर २०८२ असार २४ गते आएको बाढीले बाहिरी ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको थियो। त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ सम्पन्न गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन शुरू गरिएको थियो।
करिब २३ अर्ब ७३ करोड रुपैयाँको लागतमा निर्माण भएको यस आयोजनामा ४.८ किलोमिटर लामो हेडरेस शुरूङमार्फत प्रतिक्षण ८० घनमिटर पानी विद्युत्गृहसम्म पुर्याइन्छ। विद्युत्गृहमा जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनमार्फत अधिकतम १११ मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए।
आयोजनाको पुनर्निर्माण तथा संरचना संरक्षणको काम तीव्र रूपमा भइरहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
