
तनहुँ। व्यास नगरपालिका–१० मा नमूना शहर निर्माण गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको ‘बैरेनी जग्गा विकास आयोजना’को पहिलो चरण अन्तिम चरणमा पुगेको छ भने दोस्रो चरणको विस्तार प्रक्रिया अगाडि बढाइएको छ।
साविक फराकचौर क्षेत्रको एक हजार ३६० रोपनी जग्गामा आयोजना विस्तार गर्ने तयारीस्वरूप नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको राय, सुझाव र सहमति सङ्कलन कार्य सुरु गरेको छ। दीर्घकालीन, योजनाबद्ध र आधुनिक सहरी विकासलाई केन्द्रमा राखेर आयोजना अघि बढाइएको आयोजना प्रमुख तथा वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए।
उनका अनुसार दमौली सदरमुकाम आसपास बढ्दो अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्दै आधुनिक र योजनाबद्ध सहर निर्माण गर्ने उद्देश्यले आयोजना सञ्चालन गरिएको हो। प्रारम्भिक चरणमा केही चुनौती आए पनि हाल आयोजना जनस्तरमा स्वीकार्य बनिसकेको र आधुनिक सहरी पूर्वाधारको स्वरूप देखिन थालेपछि स्थानीयवासीमा उत्साह बढेको उनले बताए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई नगरको दीर्घकालीन विकास दृष्टिकोणको महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको बताए। उनका अनुसार योजनाबद्ध, सुरक्षित र आधुनिक सहर निर्माण गर्ने लक्ष्यअनुसार पहिलो चरणको सकारात्मक प्रगतिले स्थानीयको विश्वास बढाएको छ, जसले दोस्रो चरण कार्यान्वयनका लागि थप आधार तयार गरेको छ।
स्थानीय बृहत्तर बैरेनी एकीकृत जग्गा विकास परियोजना समितिको माग तथा सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा दोस्रो चरणको प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक अध्ययनको काम अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिले सम्पन्न गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आयोजनासम्बन्धी कुनै असहमति वा सुझाव भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित लिखित निवेदन पेस गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र कुनै असहमति प्राप्त नभए आयोजनाप्रति सम्बन्धित पक्षको सहमति रहेको मानिने नगरपालिकाले स्पष्ट पारेको छ।
आयोजनाको पहिलो चरण हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ। सडक सञ्जाल विस्तार, टेवा पर्खाल निर्माण तथा ढल निकासका अधिकांश काम सम्पन्न भइसकेका छन् भने खानेपानी लाइन विस्तार र ढल नालाको कभर स्ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ। विद्युत् प्रसारण लाइन विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजनाले जनाएको छ।
करिब ९ करोड २४ लाख ७० हजार रुपैयाँ लागत रहेको पहिलो चरणको आयोजनामा नगर विकास कोषको ७० प्रतिशत ऋण तथा गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ। पूर्वाधार विकासको प्रगति देखिएसँगै स्थानीय जग्गाधनीहरू दोस्रो चरणप्रति थप सकारात्मक र उत्साहित बनेका छन्।

