
काठमाडौं । औद्योगिक क्षेत्रमा भाडा सम्बन्धी विवादको अन्तिम कानुनी टुंगो नलागेसम्म विद्युत् लाइन नकट्न नेपाल उद्योग परिसंघले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा सरोकार राख्ने निकायसँग आग्रह गरेको छ।
परिसंघले अदालतको निर्णयअनुसार केही उद्योगले भाडा तिरेको र अन्य उद्योगले समेत तिर्ने तयारीमा रहेको भए पनि हाल मात्र केही दिनको समय बाँकी रहेको भन्दै भाडा व्यवस्थापन सम्बन्धी प्रक्रिया पूर्ण रूपमा टुंगिनुपर्ने आवश्यकता औँल्याएको छ।
सरोकारवालाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भाडा वृद्धिसम्बन्धी निर्णय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम कानुनी निर्णय नआएसम्म विद्युत् लाइन काट्ने प्रक्रिया रोक्नुपर्ने माग गरिएको हो।
परिसंघले औद्योगिक उत्पादनमूलक क्षेत्रलाई निरन्तर सञ्चालन गर्न आवश्यक वातावरण सुनिश्चित गर्न सरकार, सम्बन्धित निकाय र सरोकारवालाबीच सहजीकरण आवश्यक रहेको बताएको छ।
उद्योगीहरूले भाडा बुझाउने प्रक्रियामा रहेको तर समय अभावका कारण समस्या देखिएको उल्लेख गर्दै परिसंघले सात दिनको समय पर्याप्त नभएको पनि जनाएको छ।
उद्योग क्षेत्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई संरक्षण र सहजीकरण गर्नु आवश्यक रहेको भन्दै परिसंघले सबै पक्षलाई समन्वय गरेर समाधान निकाल्न आग्रह गरेको छ।
