
काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ।
एसियन–ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनले आयोजना गर्ने उक्त अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन्।
यस वर्षको अवार्डको मुख्य थिम ‘नेपाली टेक उद्यमीका लागि आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने अवसर’ रहेको जनाइएको छ।
एसोसियोका उपाध्यक्ष नवराज कुँवरले नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन तथा सेवाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसरका रूपमा यस अवार्डलाई लिन सकिने बताए।
त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा सरोकारवालालाई संस्थागत प्रोफाइल दर्ता गर्न आग्रह गरेका छन्। उनका अनुसार यो मञ्चले नेपाली प्रविधिको सकारात्मक प्रभावलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुग्नेछ।
क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आवेदन प्रक्रियालाई सहज बनाउन महासंघले सहजीकरण गर्ने बताएका छन्।
अवार्डका विधा
यस वर्ष एआईको प्रयोगमार्फत विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने पहललाई आठ विधामा पुरस्कृत गरिने जनाइएको छ।
विधाअन्तर्गत साइबर सुरक्षा, सार्वजनिक हित, शिक्षा, स्वास्थ्य सेवा, स्मार्ट कृषि, वित्तीय सेवा, जनशक्ति तथा भविष्यका सीप, र उत्पादन तथा सप्लाइ चेन क्षेत्र समेटिएका छन्।
आवेदनका लागि योग्यता
अवार्डका लागि कर्पोरेट संस्था, साना तथा मझौला उद्योग, स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्था र गैरनाफामूलक संस्थाहरू योग्य हुने जनाइएको छ।
प्रस्तावित एआई समाधान कम्तीमा पाइलट चरणमा कार्यान्वयन भएको हुनुपर्ने र विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्ने मापदण्ड राखिएको छ। एक आवेदकले एक विधामा मात्रै आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति १५ मे २०२६ तोकिएको छ। विजेताको घोषणा ३० मे २०२६ मा गरिनेछ भने अवार्ड वितरण समारोह ३० जुलाई २०२६ मा आयोजना हुने एसोसियो डिजिटल एआई समिटका क्रममा हुने जनाइएको छ।
इच्छुक संस्थाले तोकिएको ढाँचामा ४ देखि ५ पृष्ठको प्रस्ताव पीडीएफ फर्म्याटमा बुझाउनुपर्नेछ। प्रस्तावमा कार्यकारी सारांश, संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक पक्ष तथा उत्तरदायी एआई व्यवस्थापनसम्बन्धी विवरण समावेश गर्नुपर्ने जनाइएको छ।

