
टोकियोः विश्वको चौथो ठूलो अर्थतन्त्र जापान जनसांख्यिकीय समस्यासँग जुधिरहेका बेला पछिल्लो पाँच वर्षमा देशको जनसंख्या ऐतिहासिक रूपमा २.५ प्रतिशतले घटेको शुक्रबार सार्वजनिक जनगणनाको तथ्यांकले देखाएको छ ।
हरेक पाँच वर्षमा सार्वजनिक गरिने जापानको प्रारम्भिक जनगणना विवरणअनुसार सन् २०२५ मा देशको जनसंख्या घटेर १२ करोड ३० लाख पुगेको छ । यो सन् २०२० मा गरिएको अघिल्लो जनगणनाको तुलनामा ३० लाखभन्दा बढीले कम हो ।
सन् १९२० देखि सुरु भएको यो जनगणनामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो । साथै, सन् २०१५ देखि २०२० बीच देखिएको गिरावटको तुलनामा यो तीन गुणाभन्दा बढी हो ।
सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले पत्रकारहरूसँग कुरा गर्दै भने, “यो तथ्यांकले हाम्रो देशमा जनसंख्या घट्ने समस्या अझ गम्भीर बन्दै गएको पुनः पुष्टि गरेको छ ।”
जापानमा विश्वकै न्यून जन्मदरमध्ये एक रहेको छ भने वृद्ध जनसंख्याको हिस्सा तीव्र रूपमा बढिरहेको छ ।
जापानको घट्दो जनसंख्या समस्याको समाधानका रूपमा आप्रवासनलाई प्रायः विकल्पका रूपमा प्रस्तुत गरिए पनि प्रधानमन्त्री सानाए ताकाइची विदेशीहरूको बढ्दो आगमनविरुद्ध कडा नीति अपनाउने पक्षमा देखिएकी छन् ।
सरकारी तथ्यांकअनुसार सन् २०२५ मा जापानमा जन्मिने शिशुको संख्या लगातार दशौं वर्ष पनि घटेको छ । उक्त वर्ष कुल ७ लाख ५ हजार ८०९ शिशु जन्मिएका थिए ।
हालका वर्षहरूमा केन्द्रीय तथा स्थानीय सरकारहरूले विवाह र सन्तान जन्माउन प्रोत्साहन गर्ने विभिन्न प्रयास गरेका छन् । डेटिङ एप सञ्चालनदेखि बालपालन भत्ता वृद्धि र अभिभावक बिदामा अनुदान दिने कार्यक्रमसम्म ल्याइए पनि ती प्रयासको प्रभाव सीमित देखिएको छ ।
