Nepal Purbadhar

७ करोड लागतमा जोमसोम–कागबेनी सडक स्तरोन्नति हुँदै, ४ महिनामा सक्ने लक्ष्य


मुस्ताङ। कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नतिशुरू गरेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त नौ किलोमिटर सडकखण्डको स्तरोन्नति करिब सात करोड रुपैयाँ लागतमा शुरू गरिएको हो।

विसं २०७६ अघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्डअन्तर्गत जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा, पहिरो तथा सडक संरक्षण संरचनाको अभावका कारण विभिन्न स्थानमा क्षति पुगेपछि स्तरोन्नतिको काम थालिएको आयोजना कार्यालयले जनाएको छ। गत वर्षको साउनमा केही स्थानमा सडक भासिएको थियो भने ड्रेन र सडक संरक्षण संरचना नहुँदा थप क्षति पुगेको बताइएको छ।

आयोजनाका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन स्तरोन्नतिको काम अघि बढाइएको हो। काम सम्पन्न गर्न कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले उक्त सडक स्तरोन्नतिको ठेक्का पाएको छ।

निर्माण कम्पनीका अनुसार चालु आर्थिक वर्षको वैशाखमा सम्झौता भएको यो आयोजना जेठको पहिलो सातादेखि कार्यान्वयनमा गएको हो। चार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने भदौ १५ गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता छ। हाल कागबेनीबाट सडक स्तरोन्नतिको कामशुरू गरिएको छ।

आयोजना कार्यालयका अनुसार सडक स्तरोन्नतिअन्तर्गत एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट तथा ९०० घनमिटर आरसिसी ढलान निर्माण गरिनेछ।

जोमसोमबाट माथि एक किलोमिटर क्षेत्रमा वर्षाका कारण सडक भासिएकाले त्यहाँ ग्याविन वाल निर्माण गरिनेछ। साथै पान्डाखोला पुलको उत्तरतर्फ आरसिसी ढलान गरिने र ड्रेन तथा संरक्षण पर्खाल नभएका स्थानमा नयाँ संरचना निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ।


Read Previous

एक महिनादेखि मन्त्रीविहीन गृह मन्त्रालय, सुरक्षा र प्रशासनिक समन्वयमा असर

Read Next

विद्युत् नियमन आयोगका पदाधिकारी खुला प्रतिस्पर्धामार्फत, नियुक्तिका लागि आवेदन आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar