
: काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भदौ २३–२४ गते सम्पन्न जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने सरकारको निर्णय कार्यान्वयनमा अघि बढाएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले प्राधिकरणको यो निर्णयप्रति खुसी व्यक्त गरेका छन् ।
उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा आफ्नो अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । उक्त निर्णयअनुसार जेन–जी शहीद परिवारका २७ जनाबाट प्राप्त निवेदनका आधारमा उनीहरूको विवरण यकिन गरी पायक पर्ने प्राधिकरण कार्यालयहरूमा शैक्षिक योग्यताअनुसार बढीमा तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ।

सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा यो निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ। शहीदहरूको योगदानको सम्मान गर्दै परिवारप्रति राज्यको उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित गरिएको यो निर्णय प्रभावकारी र शीघ्र कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
