
काठमाडौ । सिमरा, — चपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट (ट्याङ्कर) पल्टिएपछि सम्भावित ठूलो दुर्घटनालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले आपतकालीन रूपमा विद्युत आपूर्ति बन्द गरेको छ।
नेपाल विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्रका अनुसार दुर्घटनास्थल नजिकै रहेको १३२ केभी प्रसारण लाइनमा ग्यास चुहावट भई विस्फोट तथा आगलागीको उच्च जोखिम देखिएकाले सुरक्षाका लागि निजगढ पश्चिम १३२ केभी प्रसारण लाइनको विद्युत आपूर्ति तत्काल काटिएको हो।
यसका कारण सिमरा वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने सम्पूर्ण क्षेत्र प्रभावित भएका छन्। ट्याङ्करलाई क्रेनको सहायताले सुरक्षित स्थानमा नहटाइएसम्म र प्राविधिक टोलीले अवस्था सुरक्षित भएको पुष्टि नगरेसम्म विद्युत आपूर्ति सुचारु गर्न नसकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आकस्मिक परिस्थितिका कारण उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना गर्दै सुरक्षा नै पहिलो प्राथमिकता भएकाले आवश्यक सतर्कता अपनाइएको स्पष्ट पारेको छ।









