
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले दुई विषयलाई प्राथमिकतमा राखेर काम गर्ने भएका छन् ।
उनले नियमित विद्युत आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेका छन् । अहिले आन्तरिक प्रणालीका कारण बत्ती अन्यन्त धेरै आउने/जाने समस्या छ । उपभोक्ताले झ्याप झ्याप बत्ती जाने आउने समस्याले हैरानी खेपिरहेका छन् । उक्त समस्या हटाएर ग्राहकलाई २४ सैं घण्टा नियमित बिजुली दिने कामलाई पहिलो प्राथमिकतामा राखेका छन्- सिलवालले ।
्
दोस्रोमा उनले प्राधिकरणले ग्राहकहरुलाई दिने सेवा/सुविधा तत्कालै दिने गरी काम गर्ने बताएका छन् । ‘ग्राहकले खोज्ने नियमति,गुणस्तरीय बिजुली र सेवा/सुविधा नै हो,’ सिलवालले नेपाल पूर्वाधार डट कमसंग कुराकानी गर्दै भने,’ त्यसपछि आन्तरिक सुधारका काम गर्छु ।’
्
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । आइतबार रातीमात्रै उनको नियुक्तिको निर्णय भयो । सोमबार घटस्थापनाका कारण सार्वजनिक बिदा भयो । मंगलबार उनले पद सम्हाल्न लागेका छन् ।

ऊर्जामन्त्री बनेर कार्यभार सम्हाल्ने बित्तिकै कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । सिलवालले पनि उक्त बक्यौता उठाउन काम गर्नेछन् । उद्योगीहरुलाई साढे दुई वर्षबढीको समय दिएर उनले किस्ताबन्दीमा बक्यौता उठाउन लागेका हुन् । उद्योगीहरुलाई समेत विश्वासमा लिएर बक्यौता उठाउनुपर्ने परिस्थिति छ । त्यसका लागि उद्योगीहरु समेत तयार भएका छन् ।
को हुन सिलवाल ?
सिलवाल नेपाल विद्युत प्राधिकरणबाट रिटार्यड उपकार्यकारी निर्देशक हुन् ।
सिलवाल २०४७ सालमा करारमा ओभरसियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनले प्राधिकरण मातहतको साना जलविद्युत विभागबाट जागिर सुरु गरेका थिए । उनी लामो समय त्यहि बसे । पछि स्थायीमा नाम निकाले । १० तहमा बढुवा भएपछि बुटवल-कोहलपुरको आयोजनामा सरुवा भए ।

अत्तरिया क्षेत्रिय कार्यालयमा काम गरे । उनले मध्यभोटेकोसीमा जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरे ।
प्रबन्ध निर्देशकको सचिवालय, आयोजना व्यवस्थापन कार्यालय, इन्जिनियरिङ सेवा निर्देशनालयमा समेत काम गरेको अनुभव उनीसँग छन् ।
उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वितरण तथा ग्राहक सेवा निर्देशनालय सम्हालेका थिए । यो निर्देशनालयलाई प्राधिकरणको ‘ब्याक बोन’ मानिन्छ । यो निर्देशनालयले राम्रो काम गर्यो भने मात्रै प्राधिकरणको कार्यकारी सफल हुन्छ । यसले काम गर्न सकेन भने प्राधिकरणको कार्यकारी निर्देशक असफल हुन्छ ।

उनै सिलवालले लगनका साथ काम गरेका कारण घिसिङ सफल भएका थिए । घिसिङले जनतामा वाहावही पाएका हुन् । अर्थात घिसिङलाई सफल बनाउन उनको महत्वपूर्ण भुमिका छ ।
लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने,कम बोल्ने सिलवाल निर्णय क्षमतामा अब्बल मानिन्छन् । पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन सिलवाल घिसिङसंगै उभिएका थिए । कुलमानसंगै उभिएका कारण सिलवाल राजनीतिक नेतृत्वदेखि व्यापारीसम्मको निशानामा परेका थिए ।

जस्तो सुकै निशानाको पनि सामना गरेर उनी घिसिङको साथ उभिए । उपकार्यकारी निर्देशकहरु समेतसंगै उभिएका कारण घिसिङले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारसंगै बक्यौता उठाएर छाड्ने अडान लिएका थिए । घिसिङलाई सधै भरी साथ दिए थिए ।
उनको निर्णय क्षमताका कारण धेरै कर्मचारीहरुले प्रशंसा गर्ने गर्छन् । ‘राइट म्यान इन राइट प्लेस’ भएको कर्मचारीहरु बताउँछन् ।