
काठमाडौं । अनलाइन माध्यममा जुवा तथा सट्टेवाजीसम्बन्धी विज्ञापनलाई तत्काल रोक्नका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
शुबास प्रसाद साह, निशा यादव र आरती कुमारी यादवले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
सर्वोच्चमा दायर गरिएको रिटमा मुलुकी फौजदारी संहिता २०७२ र विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार अनलाइन जुवा तथा सट्टेबाजी गैरकानूनी भए पनि सामाजिक सञ्जालमार्फत यसको विज्ञापन खुल्ला रुपमा भइरहेकाले सरकारले यसमाथि रोक लगाउन माग गरिएको छ ।
रिट निवेदनमा नेपालमा सञ्चालन भइरहेका यस्ता अनलाइन जुवा प्रकृतिका सबे वेबसाइट र एप तुरुन्त बन्द गर्न, गैरकानूनी विज्ञापन रोक्न, इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिन र यस्ता विज्ञापनकर्ता तथा सञ्चालकलाई कानूनी कारबाही गर्न परमादेश जारी गर्न अदालतको असारण अधिकार प्रयोग गरी अन्तरिम आदेशको माग गरिएको छ ।
संयुक्त रूपमा दायर भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुर सञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, नेपाल टेलिकम, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ ।