
काठमाडौं । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले जुलाईबाट भारतमा आफ्नो शोरुम खोल्ने भएको छ । भारतीय सञ्चारमाध्यममा उपलब्ध सुचनाकाअनुसार भारतको मुम्बई र नयाँ दिल्लीमा टेस्लाले शोरुम खोल्ने तयारी रहेको छ ।
टेस्लाले आफ्नो मोडल वाई एसयुभिलाई भारतमा लञ्च गर्दै शोरुम खोल्न लागेको हो । चीनस्थित शंघाईमा बनेको यो गाडीलाई भारतमा ल्याउन लागिएको हो ।
लामो समयदेखि अमेरिकी अर्बपति एलन मस्कको कम्पनी टेस्ला भारतमा आउने तयारी गरिरहेको छ । जसअन्तर्गत पटक पटक टेस्लाको प्रवेशलाई लिएर चर्चा पनि भईरहेको छ ।
भारतीय सरकारले हाल विद्युतीय सवारी साधनलाई लिएर नयाँ नीति लिएको छ । जसअनुसार विदेशी कम्पनीहरुलाई आयात करमा १५ प्रतिशतसम्म कर लाग्ने भनिएको छ । यसका लागि विदेशी कम्पनीले ५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने र तीन वर्षभित्रमा स्थानिय उत्पादन पनि सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ ।
टेस्लाले भारतको कर्नाटकमा वेयरहाउस स्थापना गर्ने तयारी गरिरहेतापनि तत्कालै उद्योग स्थापना गर्ने बारेमा भने केही सूचना सार्वजनिक भएको छ । केही समयअघि भारतको गुजरात, महाराष्ट्र, तमिलनाडु र तेलंगानामा उद्योग लगानी भनिएतापनि हालका लागि भने टेस्लाले आयातित गाडीहरुलाई मात्रै बिक्री गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।