Nepal Purbadhar

५७ अर्ब लागतको ८१ किमीको मुक्तिनाथ केबलकारको लगानी स्वीकृती


काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले विभिन्न पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले मुक्तिनाथ केबलकार निर्माणको लागि लगानी स्वीकृत गरेको हो ।

पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) बाट मुस्ताङको मुक्तिनाथसम्म ८१.०४१ किलोमिटर लामो केबलकार प्रणाली निर्माण गरिने योजना छ, जसमा सातवटा स्टेसन रहनेछन् । अनुमानित लागत ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको यो परियोजना ‘बुट’ (निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण) मोडलमा अगाडि बढाइनेछ । मुक्तिनाथ दर्शन प्रालिले यो परियोजना निर्माण गर्ने प्रस्ताव दिएको हो ।

परियोजनाको विस्तृत योजना र सम्झौताका शर्तहरू तय गर्न बोर्डले प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । परियोजना सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसै बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना सम्बन्धी विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने निर्णय पनि गरेको छ । अनुमानित लागत १६० अर्ब रुपैयाँ रहेको यो आयोजना दीर्घकालीन ऊर्जा सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

यस्तैगरी, ४३.२ मेगावाट क्षमताको छिलुङ खोला, २१६ मेगावाटको बझाङ माथिल्लो सेती, र ४४ मेगावाटको बकान खोला जलविद्युत् आयोजनाहरूमा समेत लगानी स्वीकृति प्रदान गरिएको छ।

बैठकले कोरियाको राष्ट्रिय रेल संस्था ‘कोरेल’ सँग सहकार्य गर्दै नेपालमा रेलमार्ग विकाससम्बन्धी अध्ययन गर्न मन्त्रिपरिषद्बाट सम्झौता मस्यौदाको स्वीकृति लिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

त्यसैगरी, जनकपुरमा खानेतेल प्रशोधन उद्योग र विभिन्न क्षेत्रमा सूचना प्रविधि (आईटी) पार्क स्थापनाका लागि प्राप्त प्रस्तावहरूलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।


Read Previous

नेपालको जलविद्युत क्षेत्र र दिगो ऊर्जा प्रवर्द्धन गर्ने गेप्पर्ट समूहको प्रतिबद्धता

Read Next

‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प ‘बल्याकआउट’