झापा । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गरेका हुन् ।
सरकारकाे स्वीकृतिपछि राजमार्गकाे रुटमा पर्ने रुख काट्न थालिएकाे ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए । उनका अनुसार एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।
उनले पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख कटान गर्ने काम सुरु भएकाे बताए । उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्ने पनि बताए ।
रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।
“काम सुरु गर्न रुख नै बाधक थियो”, उनले भने, “रुख काट्ने अनुमति हिजो आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।” उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विद्युतीय पाेल हटाइने बताए ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएकोे छ ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।