Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   


झापा ।  पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार   झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गरेका हुन् ।

सरकारकाे स्वीकृतिपछि राजमार्गकाे रुटमा पर्ने रुख काट्न थालिएकाे ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए । उनका अनुसार एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।

उनले पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख कटान गर्ने काम सुरु भएकाे बताए । उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्ने  पनि बताए ।

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।

“काम सुरु गर्न रुख नै बाधक थियो”, उनले भने, “रुख काट्ने अनुमति हिजो आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।” उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विद्युतीय पाेल हटाइने बताए ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी  एभ्रासकन कालिका जेभीले  ठेक्का लिएकोे छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।


Read Previous

सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

Read Next

पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली   

Leave a Reply

Your email address will not be published.