Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीकाे पहुँच पुगेकाे छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।

बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित १५ लाख रुपैयाँबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार नयाँ ५७ सदस्यबाट साढे ९ हजारका दरले रकम उठाइएको हो ।

चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब ३  सय घरधुरी लाभान्वित भएका थापाले बताए । समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।

धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले बताए । उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पुर्याइने योजना छ ।

यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत ३ सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पु¥याउने लक्ष्य राखिएको बताए । दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनकाे भनाइ थियो ।

चालू आर्थिक वर्षमा प्रदेशअन्तर्गत १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए । उनकाअनुसार ४७ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।


Read Previous

रुख कटानकाे अनुमति नमिल्दा ३ वर्षमा ५ किलाेमिटर सडकको काम आधा मात्रै  

Read Next

लगानी सम्मेलन निर्देशक समितिलाई तयारी तीव्र पार्न अर्थमन्त्री महतकाे निर्देशन  

Leave a Reply

Your email address will not be published.