
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन।
कार्यक्रममा सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहारस्वरूप दिए। केन्द्रीय सदस्यको शपथपछि उनले निर्वाचित पदाधिकारीलाई पनि शपथ गराएका थिए।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
भरतपुरमा सम्पन्न महाधिवेशनबाट पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गरिएको थियो।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी, महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, खुला सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका थिए
रास्वपाको केन्द्रीय समितिमा खुलातर्फ ३३, खस–आर्यतर्फ १०, आदिवासी–जनजातितर्फ नौ, थारुतर्फ दुई, मधेसीतर्फ पाँच, दलिततर्फ चार र मुस्लिमतर्फ दुई जना निर्वाचित भएका छन्। त्यसैगरी, प्रादेशिक समूहअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट पाँच–पाँच जना गरी ३५ जना निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

