Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा खण्डकाे ४ किलोमिटर सडक विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन नसकेको हाे ।

प्रधानमन्त्री दाहालले दुई हप्ताअघि निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । “प्रधानमन्त्रीले प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो, तर निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ”, धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष विनोद गौतमले भने ।

प्रधानमन्त्री दाहाल काभ्रेपलाञ्चोकको पाँचखालमा करिब तीन हप्ताअघि एक कार्यक्रममा आउँदा उनले सडकको अवस्था तथा विस्तारको कामलाई तीव्रता नदिएकोप्रति चासो दिएका थिए । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नति सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । आगामी चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाख रुपैयाँमा सम्झौता गरिएको हो । निर्माण सुरु भएको १९ महिना बितिसक्दा जम्मा १५ प्रतिशत मात्रै काम भएको जनाइएको छ ।

उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो । कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार सम्झौताअनुसार समयावधिको करिब ८७ प्रतिशत समय सकिँदा १५ प्रतिशत मात्रै काम हुनु निर्माण कम्पनीको लापरबाही भएको बताए ।

डिभिजन कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधे पनि कम्पनीले कुनै जवाफ नपठाएको उनकाे भनाइ छ । पत्रको बेवास्ता गरेपछि कार्यालयले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै लिखित स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटकपटक छलफल गराएको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरुपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोप लगाउँदै आएका छन् ।

सडक धुलाम्मे हुँदा स्थानीयले सडकमा पाइपद्वारा पानी हाल्दा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गरेको छ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीले गर्दा १९ महिनाको अवधिमा दुई सयभन्दा बढी दुर्घटनामा यात्री घाइते भएका छन् । “समयमै काम नगरी यात्रीलाई सास्ती दिने निर्माण कम्पनीलाई हदैसम्मको कारबाही गर्नुपर्छ”, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने ।

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि गत महिना दायाँबायाँका रुख काटेका थिए । त्यसपछि काम ठप्प प्रायः छ । हाल सडक मापदण्डभित्र पर्ने विद्युत्का खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त क्षेत्रमा करिब एक सय विद्युत्को खम्बा सानुपर्ने देखिएको छ ।

तीन महिनाअघि चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहाक सवारी गुड्ने गर्दछन् ।


Read Previous

कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने

Read Next

दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

Leave a Reply

Your email address will not be published. Required fields are marked *