झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने १४ वटाको निर्माण सम्पन्न भएका छन् । याे खण्डमा पर्ने ३७ पुलमध्ये एक दर्जन बढी निर्माण सम्पन्न भएका हुन् ।
बाँकी रहेका २३ वटा पुलमध्ये अधिकांशकाे पनि मूल संरचनाको काम सकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न पुल ४० देखि ४ सय मिटर दूरीसम्मका छन् ।
हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए ।
यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् । उनले कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए ।
कार्यालय दमकका प्रमुख खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको बताए । “सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन ,”उनले भने ।
१० अर्ब १३ करोड रुपैयाँ लागतमा १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
सरकारले चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ मात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उनकाे भनाइ छ ।