Nepal Purbadhar

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण   


झापा ।  मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने  १४ वटाको निर्माण सम्पन्न भएका छन् । याे खण्डमा पर्ने ३७ पुलमध्ये एक दर्जन बढी निर्माण सम्पन्न भएका हुन् ।

बाँकी रहेका २३ वटा पुलमध्ये अधिकांशकाे पनि  मूल संरचनाको काम सकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न पुल ४० देखि ४ सय मिटर दूरीसम्मका छन् ।

हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए ।

यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् । उनले कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए ।

कार्यालय दमकका प्रमुख खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको बताए । “सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन ,”उनले भने ।

१० अर्ब १३ करोड रुपैयाँ लागतमा १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

सरकारले चालू आर्थिक वर्षमा  ५० करोड रुपैयाँ मात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उनकाे भनाइ छ ।


Read Previous

भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत  

Read Next

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा