Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने


काठमाडौं । काठमाडौंमा यसै सातादेखि शुरु हुने एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत् ४६ औं इफाप्काको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित यही मंसिर ५ गतेदेखि शुरु हुने सम्मलेन ९ गतेसम्म चल्नेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ । सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम शुरु भइसकेको पनि उनले जानकारी दिए ।

हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो । जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनले जानकारी दिए । सम्मेलनका कार्यक्रमहरू सार्वजनिक गर्दै अध्यक्ष सिंहले काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिने बताए ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रजिष्ट्रेशन मंसिर ४,५ र ६ गते तोकिएको छ । ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ । मंसिर ६ मा जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ । यसै दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

मंसिर ७ मै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिने र मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहनु भएका विरेन्द्र राज पाण्डेले महासचिव र कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

४६ औं इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र मूल आयोजक समिति मातहतका ९ वटा उपसमितिहरू गठन गरिएको महासंघले जनाएको छ । महासंघका सल्लाहकार एवं इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले मुलुकको प्रतिष्ठासँग जोडिएको ४६ औ इफाप्का सम्मेलनलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले ४६ औं सम्मेलनलाई सफल बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

महासंघका महासचिव रोशन दाहालले सदस्य राष्ट्रहरूबीचको सहकार्य तथा निर्माण कार्य सम्बन्धी अनुभव आदानप्रदानका लागि इफाप्का उपयुक्त मञ्च भएको बताए । महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले ४६ औं इफाप्का सम्मेलनबाट नेपालले धेरै लाभ लिन सक्ने भएकाले सम्मेलन सफल बनाउन सम्बन्धित् सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहनु भएको समयमा काठमाडौंमा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।


Read Previous

कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

Read Next

विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम

Leave a Reply

Your email address will not be published.