Nepal Purbadhar

पुलले जोड्यो पालिकाको केन्द्र, स्थानीय खुसी


लेखनाथ । मादी–४ तारकाङस्थित केउरानीका ६५ वर्षीय वृहस्पति सापकोटाले कल्पना पनि भएकै थिएन कि गाईगोठ जाने इदी खोलामाथि पक्की पुल बन्ला भनेर । खोलाको वारिपट्टी केउरानीबाट झरेको ठूलो पहिरो र पारि पनि त्यस्तै अप्ठेरो ठाँउ यहाँ पुल बन्छ भन्ने लागेकै थिएन तर पुल बनेरै छोड्यो । पुल बनेपछि यतिबेला पुलबाट ओहोर–दोहोर गर्ने वटुवाको पनि चहलपहल बढे पनि सवारी साधन भने निकै कम गुड्ने गरेका छन् ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत केही महिना अघि मात्र ४ करोड २३ लाख रूपैयाँको लागतमा निर्माण भएको उक्त पुलबाट मादी गाउँपालिका वडा नं ४ ताराकाङ र वडा नं ११ सैमराङको तोगी, बराल डाँडा, एक्लेखेत कम्दा, याङ्जाकोटलगायत स्थानका बासिन्दालाई सुबिधा भएको छ ।

‘वर्षाद्को समयमा उर्लेर आउने ढाँडो खोलाको इदीमा ठूला ढुङ्गामा सालका काठ बाँझेर वारपार गर्ने गरेका थियाैं, पछि झोलुङ्गे पुल बनाइयो अहिले मोटर हिड्ने पुल बन्यो, विकासको क्रम विस्तारै गाउँतर्फ सर्दै गएको अनुभूति भएको छ’ तारकाङ निवासी ७२ वर्षीय होमनाथ पोखरेलले भने ।

बरालडाँडा निवासी विष्णु गुरुङले पुल निर्माणले बरालडाँडा मात्र हैन, मकैखोला र मिजुरेका बासिन्दाले समेत सुविधा पाएको बताए । पहिलो सडक नहुँदा पोखरा जान कास्कीको सैमराङ, भाचोक, मिजुरेडाँडा, थुम्सीकोटका साथै लमजुङ जिल्लाको पसगाउँ, सिङ्दी, गिलुङ, भुजुङलगायत स्थानका मानिसले इदी खोलाको झोलुङ्गे पुल प्रयोग गर्ने गरेको उनले सुनाए ।

तीस मिटर लम्बाई र ११ मिटर चौडाई भएको उक्त पक्की पुल शनिबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

मादी–४ का वडाध्यक्ष शिव सापकोटाले वर्षादको समयमा खेत रोप्न गोरु पारी तार्दा गोरु नै बाच्ने हो, की मर्ने हो भनेर आश मार्ने गथ्र्यौ त्यो समस्या यसवर्षदेखि समाधान भएको बताए । जीर्ण झलुङगे पुलबाट मानिस खस्ने हुन् कि भन्ने चिन्ता पनि अब हटेकाे उनकाे भनाइ छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको सडकमा पर्ने उक्त पुलबाट भविष्यमा थप लाभ लिन सकिने जानकारी तारकाङ निवासी इन्द्र सापकोटाले बताए । यहाँका कृषि उत्पादन बिक्रीका लागि पोखरा बजारमा सहजै लैजान उक्त पुल र सडकले सहयोग प¥याएको उनकाे भनाइ छ ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कास्कीका गाउँपालिकामध्ये विकासमा पछि परेको मादीको गाउँपालिकाको कार्यलय जोड्ने सडक विस्तार गर्न जरुरी भएको बताए । ‘गाउँपालिकाको सेवा लिन पाँच घण्टासम्म हिडेर आउनु पर्ने अवस्था पनि छ,’ उनले भने, ‘सडक सञ्जालबाट मादीको केन्द्रसम्म जोडन सक्याँै भने यहाँका जनताले गाउँपालिकाबाट सेवा सहजै लिन सक्छन् ।’

मादी गाउँपालिकाका अधिकांश वडामा घरबास र होटलहरु समेत भएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई घरबाससम्म पुग्न सडक सहज बनाउने प्रयासमा रहेकाे अध्यक्ष गुरुङले बताए । मादी नदीका विभिन्न स्थानमा समेत पुल निर्माण भएका छन् तर ती प्रर्याप्त नभएकाे नभएकाे उनकाे भनाइ छ ।

कास्कीकै पर्यटकीय क्षेत्र सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, सैमराङ, भाचोक, मिजुरेडाँडा, रबैडाँडालगायत क्षेत्र मादीमै पर्ने भएकाले संघ र प्रदेश सरकारले पनि यस क्षेत्रको विकासमा सघाउनुपर्नेमा उनले जोड दिए । रासस

Facebook Comments

Read Previous

जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा भित्रिँदै नयाँ प्रविधि

Read Next

ऊर्जा परियोजनाले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबीच सरसापटी लिन सक्ने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar