Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन


काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ ।साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत शुक्रबारदेखि १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे हो ।

नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीले परीक्षण गरी आयोजना विद्युत प्रसारण प्रणालीमा जाेडेकाे कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार सुख्या याम भएकाले अहिले आयोजनाले ३० मेगावाट विद्युत प्रणालीमा दिइरहेकाे छ ।

‘लामाे परीक्षणपछि आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेड्न सफल भएका छाैं,’ उनले भने,‘अब २ सातासम्म परीक्षण उत्पादन हुन्छ । याे चरण पूरा भएपछि व्यापारिक विद्युत उत्पादन सुरु गर्नेछाैं ।’ एक महिनाभन्दा बढी समय लगाएर गरिएको आन्तरिक परीक्षण सकिएपछि प्राधिकरणकाे प्राविधिक टाेलीले आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडेकाे हाे ।

 विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्म आयोजनाको विद्युत पुर्याउन आवश्यक १२ किलाेमिटर  प्रसारण लाइन कम्पनीले नै निर्माण गरेको छ । आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिँदा नदी तथा खोलामा पानीको सतह कम भई आएको ऊर्जा संकट न्युनिकरण गर्न राहत पुगेकाे छ ।

सुख्या याममा पनि ३० मेगावाट उत्पादन दिइरहेकाले भारतबाट हुने विद्युत आयात प्रतिस्थापन गर्न यो आयोजनाकाे भूमिका महत्त्वपूर्ण हुन पुगेकाे छ ।आयोजना परीक्षणको चरणमै रहेका बेला विद्युत प्राधिकरणले चाँडो प्रसारण प्रणालीमा जोड्न आवश्यक सहयोग गरी ताकेता गर्दै आएको थियो ।

ठूलो आयोजना भएकाले सबै संरचनाको परीक्षण गरी विद्युत उत्पादन सुरु गर्न पनि धेरै समय लागेको हो ।आयोजनाको परीक्षणका लागि सुरुङमा पानी भर्न मात्रै १७ दिन लागेको थियो ।

निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण पूरा गरी विद्युत उत्पादनको चरणमा पुर्याएको यो नै अहिलेसम्मको ठूलो आयोजना हो । निजी लगानीमा याेभन्दा ठूला आयोजना अहिले निर्माणाधीन भएपनि सम्पन्न भइसकेकाे भने याे नै अहिलेसम्मकाे ठूलाे हाे ।

आयोजनामा ७.६५४ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ । निर्माण थालेको साढे ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादनको चरणमा पुर्याउन प्रवर्द्धक कम्पनीको नेतृत्वमा रहेका पाठक सफल भएका छन्।

निजी क्षेत्रले अगाडि बढाएका अधिकांश आयोजनाको समय र लागत दुवै तोकिएको भन्दा धेरै पछाडि धकेलिने गरेको छ । तर, पाठकले विविध समस्याका बाबजुत पनि यति ठूलो आयोजना साढे ३ वर्षमा सम्पन्न गरेका छन् । इच्छा शक्ति र मेहेनत गरेमा यति ठूलो आयोजना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण पाठक बनेका छन् । यो निजी क्षेत्रका लागि पनि गौरवको विषय हो ।

यसअघि २०७८ चैतबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकोमा कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायत कारणले सम्भव हुन सकेको थिएन । सञ्चालनमा आएपछि सोलु दूधकोसीले वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

बर्खामा सबैभन्दा बढी ४१९.९३ गिगावाट घन्टा र हिउँदमा १००.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ बराबर लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।

सोलु बेसिनमा सोलु दूधकोसीसहित ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।


Read Previous

खप्तड एकिकृत पर्यटन परियोजनाको पूर्व सम्भाव्यता अध्ययन र गुरुयोजनाका लागि प्रस्ताव आव्हान

Read Next

दोल्ती पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

Leave a Reply

Your email address will not be published.