Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

जलविद्युत उद्यमी विजयमान शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट’अवार्ड


काठमाडौं । जलविद्युत उद्यमी तथा इन्जिनियर विजयमान शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएशन (एनइए) ले मंगलबार ६०औं इन्जिनियर दिवसको अवसर पारेर शेरचनलाई यो अवार्डबाट सम्मान गरेको हो ।

उनलाई इन्जिनियर भई जलविद्युत तथा यातायातलगायतका क्षेत्रमा सक्रिय भएर राष्ट्रको समृद्धिमा योगदान पुर्याएको कदर स्वरुप यो अवार्डबाट सम्मान गरिएको हो । अवार्डबाट सम्मानित भएपछि मन्तव्य राख्दै शेरचनले इन्जिनियरहरूको विशाल समूहमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुन पाउँदा विश्वासै नलागेको बताए ।

‘मैले भौगोलिकरूपमा विकट मुस्ताङमा जन्मिएर ८ वर्षको उमेरमा बुवाको हात समातेर राजधानी आएर सेन्टजेभियर्स स्कुलमा भर्ना भई विद्यालय शिक्षा सुरु गरेको थिएं,’ उनले भने, ‘रसियासम्म पुगेर उच्च शिक्षा हासिल गरी इन्जिनियर भई यतिका वर्ष काम गरेपछि यो अवार्ड पाउँदा निकै हर्सित छु । यो सम्मानका लागि एनइएलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’

उनले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ दिने प्रथालाई निरन्तरता दिन पनि एनइएलाई आग्रह गरे । शेरचन जलविद्युत उद्यमी हुन् । उनले निर्माण गरेका केही जलविद्युत आयोजना सञ्चालनमा छन् । १४.९ मेगावाटको माया खोला आयोजना निर्माणको अन्तिम चरणमा छ ।

शेरचन नेपालमा सफा टेम्पोको प्रविधि भित्र्याउने व्यक्ति पनि हुन् । उनले नेपाल आयल निगमको जिम्मेवारीमा रहेर पनि काम गरेका छन् । पछिल्लो समय उनी जलविद्युत क्षेत्रमा सक्रिय छन् ।

६ विधामा इन्जिनियर  र संस्थालाई अवार्ड

एनइएले इञ्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने ६ विधाका इञ्जिनियर, आर्किटेक्ट तथा संस्थालाई पनि सम्मान गरेको छ । इनइएले इन्जिनियर दिवसको अवसर पारेर इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई सम्मान गरेको हो ।

सम्मानित हुने इन्जिनियरहरूमा सरोजकुमार उपाध्याय, सन्जय केसी, रोजाकिरण बासुकला, रेखा श्रेष्ठ  र अनुप खनाल छन् । उपाध्यायलाई विशिष्ट उद्यमशील, केसीलाई सहिद इन्जिनियर नवराज विष्ट, बासुकलालाई उत्कृष्ट व्यवसायिक, श्रेष्ठलाई उत्कृष्ट महिला इन्जिनियर तथा खनाललाई वेष्ट इनाेभेसनअवार्डबाट सम्मान गरिएको हो । इञ्जिनियर्स एप्रिशिएसन अवार्ड राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ ।


Read Previous

ऊर्जा र सूचना प्रविधि क्षेत्रका पूर्वाधारको गुणस्तर वृद्धिमा ध्यान दिन इन्जिनियरलाई प्रधानमन्त्रीको आग्रह

Read Next

रोयल्टीमा जलविद्युतको हिस्सा ५३ प्रतिशत

Leave a Reply

Your email address will not be published.